
काठमाडौं, नेपाल – सिड्नीस्थित नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) ले स्नातक तहमा ‘सोसियल वर्क’ (बि.एस.डब्ल्यु) कार्यक्रम सञ्चालन गर्नका लागि क्राइकस स्वीकृति प्राप्त गरेको छ। यससँगै कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई बि.एस.डब्ल्यु पढाउन पाउने भएको हो।
क्राइकस (Commonwealth Register of Institutions and Courses for Overseas Students) कोड अस्ट्रेलियाली शिक्षण संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न स्वीकृत पाठ्यक्रमहरूको लागि दिइने विशिष्ट पहिचान सङ्ख्या हो। यो स्वीकृति प्राप्त गरेपछि न्याप्स सिड्नीले स्नातक तहमा ‘सोसियल वर्क’ (बि.एस.डब्ल्यु) मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न आवश्यक मापदण्ड पूरा गरेको छ।
क्राइकस स्वीकृति प्राप्त गरेपछि न्याप्स सिड्नीका रिजनल मार्केटिङ म्यानेजर मुकेश धमलाले यसलाई अत्यन्तै महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, “यसले क्याम्पसको उच्च गुणस्तरीय शिक्षा र विश्वभरका सामाजिक विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई ज्ञान दिने प्रतिबद्धता देखाएको छ।” न्याप्स सिड्नी क्याम्पसको बि.एस.डब्ल्यु कार्यक्रम (CRICOS Code: 116109A) विद्यार्थीहरूलाई विभिन्न सामाजिक कार्यहरूमा अर्थपूर्ण प्रभाव पार्न आवश्यक सीप र ज्ञान प्रदान गर्न डिजाइन गरिएको उनको भनाइ छ।
धमलाले क्राइकस स्वीकृति प्राप्त गरेर आफूहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वागतको ढोका खोल्न तयार भएको र यसले क्याम्पस समुदायलाई विविध दृष्टिकोण र अनुभवहरूले समृद्ध बनाउने विश्वास व्यक्त गरे। यद्यपि क्राइकस स्वीकृति प्राप्त भए पनि ‘अस्ट्रेलियन एसोसिएसन अफ सोसियल वर्कस’ (ए.ए.एस.डब्ल्यु) बाट यो कार्यक्रमले मान्यता प्राप्त गर्न बाँकी रहेको र आफूहरू उक्त मान्यताका लागि पनि काम गरिरहेको जानकारी दिए।
हाल, न्याप्स सिड्नीमा ‘ब्याचलर अफ अकाउन्टिङ’ तथा ‘ब्याचलर अफ इस्लामिक बिजनेस’ कार्यक्रमहरू अध्यापन भइरहेको छ। कलेजले थप नयाँ विषयहरू भित्र्याउने र अर्को धेरै खोजिने स्थानमा नयाँ क्याम्पस खोल्ने तयारी गरेको छ। सन् २०२१ मा सञ्चालन अनुमति पाएको न्याप्स एक निजी क्षेत्रको उच्च शिक्षा प्रदायक संस्था हो।
यसको सञ्चालक नेपाली मूलका अस्ट्रेलियन व्यवसायी मात्रिका बिमली तथा अधिवक्ता सुमन भेटवाल रहेका छन्। साथै, अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा नेतृत्वदायी भूमिका निभाइसकेका व्यक्तित्वहरू पनि सञ्चालक समितिमा रहेका छन्। सोही समूहले अस्ट्रेलियामा अन्य ३ वटा भोकेसनल कलेज पनि सञ्चालन गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे