
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरी आज (वैशाख ८ गते) देखि बिक्री खुला गरेको छ। बैंकले कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको जनाएको छ।
सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक सात प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। प्रत्येक कित्ताको अंकित मूल्य एक हजार रुपैयाँ रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
ऋणपत्र निष्कासनको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिने अवधि छिटोमा वैशाख १० गतेसम्म र ढिलोमा वैशाख २१ गतेसम्म रहने बैंकले जनाएको छ।
बैंकले कुल निष्कासनको ६० प्रतिशत हिस्सा अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि सुरक्षित गरेको छ। बाँकी ४० प्रतिशत हिस्सा अर्थात् एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ। यसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी नौ लाख ५० हजार कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन्।
उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘CARE NP A+’ रेटिङ प्रदान गरेको छ। बैंकको हालको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ, जारी पूँजी तथा चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे