
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको बताइन्।
परराष्ट्र मन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु।’ उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन् ।
२०२३ अक्टोबर ७ मा हमासले विपिनलाई बन्धक बनाएको हो । सन् २०२३ को अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे