
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आफ्ना हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा जम्मा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको हो। यसका लागि कम्पनीले एक दिनका लागि जेठ २२ गते बुक क्लोज गरेको थियो।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद शेयर निष्कासनका लागि गत जेठ ६ गते स्वीकृति प्राप्त गरेको थियो। सो अनुसार, गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै आगामी साउन १९ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले निर्वाह गर्दैछ। इच्छुक लगानीकर्ताहरूले आरबीबी मर्चेन्ट बैंक तथा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू — विरगञ्ज, जनकपुर, नारायणगढ, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी — बाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि–आस्बा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ अनलाइन पोर्टलबाट पनि हकप्रद शेयरका लागि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे