
काठमाडौं, वैशाख २२ – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद बीना लामाले तीनकुने घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन समिति गठन गर्न र थुनामा रहेका रवीन्द्र मिश्रलगायतलाई रिहा गर्न माग गरिन्।
सांसद विराजभक्त श्रेष्ठले सिम्रौनगढको ऐतिहासिक पल्कियामाई मन्दिरको संरक्षणमा ध्यान दिनुपर्ने बताए। सांसद शान्ति श्रेष्ठ र सरस्वती बजिमयले वर्षायाम अगाडि सडक निर्माण कार्य सम्पन्न गर्न जोड दिँदै पहाडी क्षेत्रमा जनताको जोखिम बढेको बताए।
सांसद शिव नेपालीले राष्ट्रिय गौरव योजनामा देखिएको अनियमितता हटाउन कडा कार्यान्वयन र रेशम चौधरी प्रकरणमा न्यायिक छानबिनको माग गरे। सांसद शिशिर खनालले गोङ्गबु क्षेत्रमा रातपख हुने लुटपाट, होहल्ला र अव्यवस्थित क्रियाकलाप रोक्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद शोभा ज्ञवालीले ढिला हुने योजनामा ठेक्का प्रक्रियामाथि कडाइ गर्न भनिन्। सन्तोष चालिसेले कृषकलाई बजारसँग जोड्ने नीति ल्याउन र कृषि बजेट बढाउन माग गरे।
अन्य सांसदहरूले दलित भूमिहीनको हक, नदी कटानको समस्या, मल वितरण, सिमसार संरक्षण र संसद् भवन निर्माणको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे