
काठमाडौँ १८ मंसिर | काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९० एम्पुल, फेनारगन १ सय ९० एम्पुल, नुर्फिन १ सय ९० एम्पुल, नाईट्राजेपाम ट्याब्लेट २ पत्ता र नगद ११ हजार ५ सय ३० रूपैयाँ गएराति प्रहरीले बरामद गरेको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७७ प ७४९८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरुले मोटरसाइकल र झोला छोडी फरार भएपछि झोला जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ गुरुवागाउँ बस्ने ३१ वर्षीय चेतराम अहिरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.४ प ९५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अहिरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, गौर नगरपालिका-३ दाल मिलस्थित फलक पोल्ट्री फर्म नामक कुखुरा फर्मबाट १ सय ८० केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर थाहा नगरपालिका-३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त कुखरा फर्मभित्र लागूऔषध गाँजा राखेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले तलासी गर्दा कुखुरा फर्मभित्र उक्त परिमाणको लागूऔषध फेला पारेको थियो । साथै सोही स्थानमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०१-००६-ख २८३० नम्बरको मिनि ट्रक समेत फेला परेकोले ट्रक चालक सुरेन्द्र स्याङताङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ट्रकमा उक्त लागूऔषध ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-८ पत्रास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना.२३ प ८७८३ र प्र.३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरुले मोटरसाइकल छोडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, संखुवा प्रसौनी गाउँपालिका-२ नौवगछियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय एकटांगाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले झोला फाली मोटरसाइकल सहित फरार भएपछि झोला तलासी गर्दा उक्त गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे