
काठमाडौं। तातोपानी नाका जोड्ने अरनिको राजमार्ग लामो समयदेखि अवरुद्ध रहँदा मर्मत तथा स्तरोन्नतिको मागसहित स्थानीयवासी आन्दोलित बनेपछि तातोपानी भन्सार हुँदै हुने आयात–निर्यात व्यापार प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।
संघका अनुसार, स्थानीयले मंसिर २० गतेदेखि राजमार्ग स्तरोन्नति गर्नुपर्ने माग राख्दै आन्दोलन थालेपछि तातोपानी नाकाबाट सीमित रूपमा हुँदै आएको आयात–निर्यात गतिविधि अवरुद्ध भएको हो। संघले जारी गरेको विज्ञप्तिमा सडक अवरोधका कारण व्यापारी तथा व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित भएको र यसबाट राज्यले उल्लेख्य मात्रामा राजस्व गुमाइरहेको उल्लेख गरिएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघले अरनिको राजमार्ग स्तरोन्नति र तातोपानी क्षेत्रको समग्र विकासलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै, स्थानीयका जायज मागलाई संवादमार्फत सम्बोधन गर्दै समस्या समाधान गर्न संघले आग्रह गरेको छ।
यसअघि तातोपानी नाका पुग्ने सडकअन्तर्गत कोराला खण्डमा पहिरो जाँदा सडक पूरै बगेपछि पाँच महिनाभन्दा बढी समय नाका बन्द रहेको थियो। हालै मात्र सडक खुलाइएको भए पनि पुनः आन्दोलनका कारण व्यापारिक गतिविधि प्रभावित भएको संघका अध्यक्ष रामेश्वर कार्कीले जानकारी दिए।
संघले सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै अविलम्ब राजमार्ग मर्मत तथा स्तरोन्नति कार्य अघि बढाउन माग गरेको छ। साथै, राष्ट्रिय हितलाई मध्यनजर गर्दै स्थानीयलाई आन्दोलनका कारण सडक अवरोध नगरी सहकार्य गर्न पनि संघले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे