
भक्तपुर। दसैंको बेला राजधानी आउजाउ गर्ने यात्रुहरूलाई अरनिको राजमार्गको सडक विस्तार ढिलाइले थप समस्या भएको छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने काम सुस्त गतिमा हुँदा यात्रुहरू धुवाँ, धुलो र हिलो झेल्न बाध्य भएका छन्।
भक्तपुर–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरिएको सडक विस्तार २०७९ पुस २४ गतेबाट सुरु भएको हो। करिब ३६ महिनाभित्र सम्पन्न गर्ने योजना भए पनि हालसम्म काम पूरा हुन सकेको छैन। सूर्यविनायक–साँगा ७.५ किलोमिटर सडक विस्तारको लागत ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किलोमिटर सडक विस्तारको लागत ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार मुख्य सडक र सर्भिस लेनसहित ६ लेनको विस्तार कार्य बजेट अभावका कारण ढिलो भइरहेको हो। यस राजमार्गको दायाँ–बायाँको क्षेत्र २०१७ सालमै २५–२५ गज निर्धारण गरिएको थियो, जुन २०२१ सालमा बनेको कानुनद्वारा पनि कायम राखिएको हो।
काठमाडौंबाट पूर्वतर्फ जाने मध्यपहाडी लोकमार्ग तथा बिपी र पुष्पलाल राजमार्गसँग जोडिने भएकाले यो सडक अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै, कोसी र मधेस प्रदेशका यात्रुहरू पनि यही सडक प्रयोग गरेर राजधानी आउजाउ गर्दै आएका छन्। विस्तार ढिलाइले आर्थिक र सामाजिक प्रभाव परेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे