
वासिङ्टन डीसी। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको यात्रुबाहक विमान र सैन्य हेलिकप्टर आकाशमै ठोक्किएको पुष्टि गरेको छ।
डीसी फायर एन्ड इएमएस विभागका अनुसार विमान पोटोम्याक नदीमा खसेको छ। विमानमा ६० जना यात्रु र चारजना चालक दलका सदस्यहरू सवार थिए, भने अमेरिकी सेनाको हेलिकप्टरमा तीनजना सैनिक रहेको जनाइएको छ।
एक कानून प्रवर्तन स्रोतका अनुसार दुर्घटनामा मृत्यु पुष्टि भएको छ तर कति जनाले ज्यान गुमाएका छन् भन्ने जानकारी खुलाइएको छैन।
प्रहरी गोताखोर टोली तथा उद्धार डुंगाहरू नदीमा बाँचेकाहरूको खोजी तथा उद्धार कार्यमा संलग्न भएका छन्। अमेरिकी अधिकारीहरूले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाइएको छ।
एफएएले सीबीएस न्यूजलाई जारी गरेको वक्तव्यमा स्थानीय समयअनुसार राति ९ बजे विमान रेगन वासिङ्टन नेसनल एयरपोर्टको धावनमार्ग ३३ मा अवतरण गर्ने क्रममा दुर्घटना भएको उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे जानकारी पाएको बताएका छन्। उनले यस “दुर्भाग्यपूर्ण दुर्घटना” प्रति दुःख व्यक्त गर्दै आपतकालीन उद्धारकर्मीहरूको “असाधारण कार्य” का लागि धन्यवाद दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे