
काठमाडौँ, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको क्षेत्र न २ मा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गर्ने भएको छ । ६५ वर्ष माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने उद्देश्यले रास्वपाले सञ्चालनमा ल्याएको ना २ ख नम्बरको एम्बुलेन्स पुरानो मेडिकल भरतपुरलाई नै फिर्ता गर्ने बुझिएको छ । रास्वपाले निर्देशिकाविपरीत रङ परिवर्तन गरेर निलो बनाएको एम्बुलेन्सलाई जुन रङ थियो, त्यही रङको बनाएर फिर्ता गर्ने तयारी गरेको छ ।
पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र २ बाट आफू विजयी भएको १ वर्ष पुरा भएको अवसरमा कलेजको एम्बुलेन्सलाई आफ्नै पार्टीको जस्तो झण्डाको निलो रंग लगाएर गत साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए । त्यसअघि उक्त एम्बुलेन्स सेतो रंगको भएको बुझिएको छ ।
एम्बुलेन्सको वास्तविक रंग परिवर्तन गराएर एम्बुलेन्सको लेखेको मेटाएर मोबाइल क्लिनिक लेखेपछि विवाद सुरु भएको थियो ।
पार्टीले अब एम्बुलेन्सको सट्टा भ्यानको व्यवस्था गर्ने र मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी गरेको छ । उक्त एम्बुलेन्स भारतीय दुतावासले ११ वर्ष अगाडी मेडिकल कलेजलाई दिएको थियो । सोही एम्बुलेन्सको नविकरण गरेर गत साउन १४ गते मोबाइल क्लिनिकको रुपमा सञ्चालन गर्ने घोषणा गरिएको थियो ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ ले कुनै पनि सवारीसाधनको आफूखुसी रङ परिवर्तन गर्न नपाउने ब्यवस्था छ । सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ।
रबि लामिछानेले भने मोबाइल क्लिनिकको गाडी मात्र परिवर्तन हुन लागेको बताएका छन् । उनले अब मोबाइल क्लिनिकमा २ वटा बस निरन्तर चालू रहने बताएका छन् । ब्लु बसमा पनि कुनै समस्या नभएको उहाँको भनाई छ ।
लामिछानेले एम्बुलेन्सको बिषयमा आएको समाचारलाई हेडलाईन आतंक भन्दै उल्टै मिडियाप्रति खनिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे