
काठमाडौँ । आन्दोलनरत शिक्षकहरूलाई धम्की दिएको आरोपमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। महासंघले स्थानीय तहहरूबाट शिक्षक, प्रधानाध्यापक र कर्मचारीहरूलाई धम्क्याउने, सरुवा गर्ने तथा राजीनामा दिन दबाब दिने गतिविधि भइरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकारको सम्मान गर्दै यस्ता गतिविधि नगर्न र नगराउन स्थानीय तहहरूलाई अनुरोध गरिएको छ। साथै, आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई परिस्थितिबाट विचलित नहुन आह्वान गरिएको छ।
नेपाल शिक्षक महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन सञ्चालन गर्दै आएको जनाएको छ। आन्दोलन सुरुआत भएको २५ दिन नाघिसकेको छ। महासंघले यो आन्दोलनलाई गुणस्तरीय विद्यालय शिक्षा र विद्यार्थी तथा शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यसहित अन्तिम र निर्णायक संघर्षको रूपमा व्याख्या गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै माग र मुद्दा समेटिएको अग्रगामी ऐन जारी गराउन अब निर्णायक दबाब आवश्यक रहेको उल्लेख गरिएको छ। यस सन्दर्भमा देशभरका सबै शिक्षक र कर्मचारीहरूलाई काठमाडौँ आइ आन्दोलनमा सहभागिता जनाउन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे