
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कडा चेतावनी दिएका छन्। थापालाई ससम्मान फिर्ता नगरे काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गर्दै उनले भने, “अब खास लडाइँ भोलिबाट सुरु हुन्छ।”
निषेधित क्षेत्र तोड्ने प्रयासमा कमल थापा पक्राउ
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा निरन्तर प्रदर्शन गरिरहेका राप्रपा, राप्रपा नेपाल लगायत राजावादी दलहरुले आज नक्शाल र बालुवाटार क्षेत्र केन्द्रित आन्दोलन गरेका थिए। प्रदर्शनका क्रममा बालुवाटारतर्फ अघि बढ्ने प्रयास गर्दा कमल थापा सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि लाठीचार्ज समेत गर्नु परेको थियो। सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएको आशंका गरिएको छ।
लिङ्देनको आक्रोश : ‘५० ठाउँबाट निस्कन्छौं’
प्रदर्शनपछिको भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, “अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?”
उनले आन्दोलनलाई थप चर्काउने संकेत दिँदै भने, “कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ।” उनले सुरक्षानिकायप्रति आक्रोश पोख्दै राप्रपाको ‘संयमलाई कमजोरी नठान्न’ चेतावनी समेत दिए।
निरन्तर चर्किंदै राजावादी आन्दोलन
राप्रपाले जेठ १५ गतेदेखि काठमाडौंमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ। लिङ्देन, थापा, र अन्य नेताहरूले यो आन्दोलनलाई ‘निर्णायक संघर्ष’ मा लैजाने घोषणा गरेका छन्।
राजसंस्थाको समर्थनमा भएको यो आन्दोलनलाई राजधानीमा राजनीतिक चासोका साथ हेरिएको छ। शान्तिपूर्ण प्रदर्शनको प्रयास गर्दै आएको बताउने राप्रपा नेतृत्वले अब ‘कठोर विकल्प’ रोज्ने चेतावनी दिन थालेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे