
अछाम, माघ १९ । अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई जना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरू बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरू पनि पुगेका थिए । उनिहरू किशोरीहरूको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन् । उहीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ ।आरोपितहरूले जङ्गलमा मृतकसँग उपहार स्वरूप चुन्नि मागेका थिए । मृतक ईशराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार लिन नमान्दा घटना घटेको देखिएको छ । सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए ।
सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो ।सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नहरूको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे