
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७७ असार ३१ सम्मको अवधिमा श्रेष्ठको सम्पत्ति विवरणको अध्ययन गरेको थियो। अध्ययनका क्रममा उनले वैधानिक रूपमा ११ करोड २५ लाख ६५ हजार १ सय ९९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको र १६ करोड १३ लाख ९५ हजार ५ सय २८ रुपैयाँ बराबरको लगानी तथा खर्च गरेको देखिएको आयोगले जनाएको छ।
तर, झण्डै ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत वैधानिक रूपमा पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। सार्वजनिक सेवामा रहँदा श्रेष्ठले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनशैली अपनाएको पाइएको छ।
श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठको नाममा समेत राखेको तथ्य सार्वजनिक भएपछि आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे