
काठमाडौं। संसद् बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले सरकारको काम गर्ने शैलीको कडा आलोचना गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले गरिब र कमजोर वर्गको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा उनीहरूलाई नै समस्यामा पारिरहेको आरोप लगाए।
उनले सुकुम्बासी, पठाओ राइडर, साना व्यवसायी तथा दैनिक ज्यालादारी गरेर जीवन चलाउने नागरिकहरू सरकारका निर्णयबाट बढी प्रभावित भएको बताए। सरकारले गरिबको जीवन सहज बनाउनुको सट्टा झन् कठिन बनाएको उनको भनाइ थियो।
सांसद राईले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन पनि माग गरे। उनले प्रधानमन्त्रीले यसअघि मेयर हुँदा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै अहिले पनि सीमा सम्बन्धी विवादास्पद भनाइ सच्याउन आवश्यक रहेको बताए। यस्ता अभिव्यक्तिले गलत सन्देश जाने र राष्ट्रिय हितमा असर पर्न सक्ने उनको भनाइ थियो।
त्यस्तै, उनले सर्वोच्च अदालतको आदेशविपरीत हजारौं करार र ज्यालादारी कर्मचारीलाई जागिरबाट हटाइएको आरोप लगाए। यसले धेरै परिवारको रोजगारी र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको भन्दै सरकारले तत्काल निर्णय पुनर्विचार गर्नुपर्ने माग पनि गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे