
काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी छन्। उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय २०८३ असार २६ गतेको निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै प्रबन्धनिर्देशक पदमा पुनर्बहाली गरिएको हो।
पुनर्बहालीपछि आयोजित पदबहाली कार्यक्रममा प्रबन्धनिर्देशक अर्यालले कर्मचारीहरूलाई सम्बोधन गर्दै संस्था र राष्ट्रको हितमा इमानदारीपूर्वक तथा निष्ठाका साथ काम गर्न कुनै पनि कर्मचारी डराउन नपर्ने बताइन्। उनले विगतमा कर्मचारीहरूमाथि लगाइएका आरोप र सिर्जना गरिएका भ्रम अन्ततः सत्यको स्थापनासँगै समाप्त भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिको अवधिमा संस्थालाई प्रभावकारी रूपमा नेतृत्व र सहयोग पुर्याउने सम्पूर्ण व्यवस्थापन टोली तथा कर्मचारीप्रति आभार व्यक्त गरिन्।
उनले नेपाल टेलिकममा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राखिने स्पष्ट पार्दै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकार र सेवाग्राहीको अपेक्षालाई समेत ध्यानमा राखेर काम गरिने बताइन्। साथै नेपाल सरकारको नीति, भावना र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ, पारदर्शी तथा उत्तरदायी ढंगले काम गर्दै कम्पनीप्रतिको जनविश्वास र बजारको साख अझ सुदृढ बनाउने तथा सेवालाई थप गुणस्तरीय, प्रभावकारी र ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाल टेलिकमले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा देशको दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
उक्त जानकारी नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे