
काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनी, तिनका कर्मचारी तथा बिमा सर्भेयरबाट बिमा दाबी निर्धारण र भुक्तानी प्रक्रियामा अनियमितता भएको गुनासा बढेपछि सर्वसाधारणलाई प्रमाणसहित उजुरी गर्न आग्रह गरेको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै केही बीमक, बीमकका कर्मचारी तथा बिमा सर्भेयरले बिमासम्बन्धी कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिताविपरीत काम गरेको गुनासा प्राप्त भएकाले त्यस्ता घटनाबारे जानकारी दिन आग्रह गरेको जनाएको छ। प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी बिमा ऐन, २०७९ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।
सूचनाअनुसार कुनै बिमा कम्पनी, कर्मचारी, बिमा सर्भेयर वा अन्य सम्बन्धित पक्षले दाबी प्रक्रियामा अनावश्यक दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको, तथ्य तोडमरोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको वा अनुचित लाभ लिएको पाइए उजुरी गर्न सकिनेछ।
प्राधिकरणले उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर, सम्बन्धित बिमा कम्पनीको नाम, समस्याको स्पष्ट विवरण, बिमालेख नम्बर, दाबी नम्बर तथा दाबी पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्न आग्रह गरेको छ।
सर्वसाधारणले ललितपुरको कुपण्डोलस्थित नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालयको दर्ता शाखामा प्रत्यक्ष उपस्थित भई वा प्राधिकरणको आधिकारिक इमेलमार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले बिमा सेवा पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउन नियामकीय निगरानीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे