
एजेन्सी । इरानमा सरकारविरोधी प्रदर्शनमाथि कडा दमन भइरहेका बेला अमेरिका र बेलायतले मध्यपूर्वमा सुरक्षा सतर्कता बढाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा विचार गरिरहेका समयमा कतारस्थित अल–उदेइद हवाई अड्डाबाट अमेरिकी र बेलायती कर्मचारीको संख्या घटाइएको हो।
अधिकारीहरूका अनुसार यो कदम सावधानीका रूपमा चालिएको हो। बीबीसी र सीबीएसले जनाएअनुसार केही अमेरिकी र बेलायती सैन्य कर्मचारीलाई अस्थायी रूपमा हटाइएको छ। कतारी सरकारले यो निर्णय अहिलेको क्षेत्रीय तनावका कारण भएको बताएको छ। यसैबीच, बेलायतले इरानको राजधानी तेहरानमा रहेको आफ्नो दूतावास पनि अस्थायी रूपमा बन्द गरेको छ, जुन अब टाढाबाट सञ्चालन हुनेछ।
दोहास्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरूलाई थप सतर्क रहन र अल–उदेइद हवाई अड्डामा अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ। यता, इरानले बिहीबार बिहान आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो। सुरुमा दुई घण्टाका लागि बन्द गरिएको हवाई क्षेत्र पछि बिहान ८ बजेसम्म बन्द राखिएको थियो।
यसको असर हवाई उडानहरूमा पनि परेको छ। एयर इन्डिया र जर्मनीको लुफ्थान्सासहित धेरै एयरलाइन्सले इरान वरिपरि उडानको बाटो परिवर्तन गरेका छन्। एयर इन्डियाले यात्रुहरूलाई ढिलाइ वा उडान रद्द हुन सक्ने चेतावनी दिएको छ। लुफ्थान्साले अर्को सूचना नआएसम्म इरान र इराकको हवाई क्षेत्र प्रयोग नगर्ने जनाएको छ।
अधिकार समूहहरूका अनुसार हालै इरानमा भएको दमनमा २,४०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन्। कतारी सरकारले आफ्ना नागरिक र बासिन्दाको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सबै उपाय अपनाइरहेको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे