
काठमाडौं । सरकारले यस वर्षको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ। कृषि विभागका अनुसार यो नारा खाद्य सुरक्षामा धानको भूमिकालाई विशेष जोड दिँदै धान उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले चयन गरिएको हो।
असार १५ गते मनाइने राष्ट्रिय धान दिवसको अवसरमा कृषि विभागले काठमाडौंको खुमलटारमा विशेष कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ। ती कार्यक्रमहरूमा जलवायु अनुकूलित प्रविधिको अनुसन्धान, रैथाने बालीको संरक्षण, कृषक सम्मान, प्रविधिको प्रचारप्रसार तथा जलवायु परिवर्तनका असरहरूबारे विज्ञहरूसँग अन्तक्र्रिया समेटिनेछ।
कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाइने जानकारी दिए। उनका अनुसार धान नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षसँग गाँसिएको प्रमुख खाद्यान्न हो, जसले औसत नेपालीको जीवन निर्वाहमा महत्वपूर्ण भूमिका खेल्दछ।
सञ्जेलका अनुसार विसं २०६१ देखि हरेक असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइँदै आएको छ। यसको उद्देश्य धान खेतीलाई आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भरता तर्फ लैजानु हो।
सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो। आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो।
यद्यपि धान खेती हुने क्षेत्रफलमा केही कमी आएको देखिन्छ। आव २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो भने आव २०८१/८२ मा त्यो घटेर १४ लाख २० हजार ६३६ हेक्टरमा सीमित भएको छ। तर, क्षेत्रफलमा कमी आउँदा पनि उत्पादकत्वमा सुधार आएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
उनका अनुसार रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउ र समयमै परेको वर्षाका कारण उत्पादनमा सकारात्मक वृद्धि देखिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे