
काठमाडौं । अमेरिका र इरान बीच इस्लामाबाद मा करिब २१ घण्टा लामो उच्चस्तरीय वार्ता भए पनि कुनै ठोस सहमति हुन सकेन। मध्यपूर्वमा जारी तनाव कम गर्ने उद्देश्यले सुरु भएको यो वार्ताबाट ठूलो अपेक्षा गरिएको थियो, तर अन्त्यमा निष्कर्षविहीन बनेको छ।
वार्तामा दुवै पक्षले आफ्ना(आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन नसकेको बताइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसँग सहमति हुन नसकेको बताएका हुन्।
भान्सले भने, ‘हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले धेरै ठोस छलफलहरू गरेका छौं, यो राम्रो खबर हो। नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं।’ अमेरिका पक्षले इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउनुपर्ने र स्ट्रेट अफ होर्मुज खुला गर्नुपर्ने माग राखेको थियो। इरानले भने आफ्ना प्रतिबन्ध हटाउन र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्नुपर्ने अडान लिएको थियो।
वार्ता अवधिभर दुवै देशका प्रतिनिधिहरूबीच पटक–पटक छलफल भए पनि आपसी विश्वासको कमी प्रमुख बाधा बनेको देखिएको छ। वार्तापछि दुवै पक्षले औपचारिक रूपमा ठूलो उपलब्धि हासिल नभएको संकेत दिएका छन्।
यसबीच, मध्यपूर्वमा जारी तनाव र सानो–सानो झडपहरू अझै रोकिएका छैनन्, जसले भविष्यमा फेरि वार्ता हुने सम्भावना राखे पनि परिस्थिति जटिल बनाइरहेको छ। विश्लेषकहरूका अनुसार, दीर्घकालीन शान्तिका लागि अझ धेरै चरणका वार्ता आवश्यक पर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे