
ललितपुर। ललितपुरको जावलाखेल मैदानमा सम्पन्न १७ औं गोदावरी पुष्प मेलेमा चार दिनमा ४३ हजार ६ सय अवलोकनकर्ताले सहभागीता जनाए। फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार, मेलामा कुल १ करोड १८ लाखको कारोबार भएको छ।
मेलाको आयोजनामा कार्तिक ८ गतेदेखि शुरु भएको कार्यक्रममा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दै २५ लाखको कारोबार गरेका थिए। दोस्रो दिन ९ हजार ८ सय अवलोकनकर्ताले पनि २५ लाखको कारोबारमा योगदान गरे। तेस्रो दिन शनिबार १५ हजार ९ सय मानिसले ५० लाखको कारोबार गरे भने अन्तिम दिन ११ हजार जनाले २८ लाखको कारोबार गरे।
मेला संयोजक रामबहादुर तामाङले मेलाले प्रक्षेपण गरिएका आँकडाभन्दा बढी अवलोकन र कारोबार गरेको जानकारी दिए। पुष्प व्यवसाय प्रवर्धन र गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनीको आयोजना गरिएको थियो।
फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले भने, “अवलोकनकर्ताले सबैभन्दा बढी बहुवर्षीय फूलप्रति आकर्षण देखाए, र यसले अत्यधिक बिक्री गराएको छ।” इन हाउस ग्रीन प्लान्टको बिक्री पनि राम्रो भएको बताइएको छ।
मेलामा ६८ व्यवसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र १ सेल्फी स्टल गरी ७५ वटा प्रदर्शनी कक्ष रहेका थिए। विगतका वर्षहरूसँगै यो वर्ष पनि गोदावरी फूलको ४ वटा विधामा प्रतिस्पर्धा गरिएको थियो।
नेपालमा वि.सं. २०११ देखि शुरु भएको पुष्प व्यवसाय अहिले सातै प्रदेशमा फैलिएको छ। फ्लोरिकल्चर एसोसिएसनको तथ्यांक अनुसार, नेपालमा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गर्दै १ हजार १७४ भन्दा बढी व्यवसायी संलग्न छन्, जसमा ८ अर्ब ८३ करोडको लगानी गरिएको छ।
पुष्प व्यवसायले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५१ हजार ५०० भन्दा बढी व्यक्तिहरूलाई रोजगार प्रदान गर्दै आएको छ। आर्थिक वर्ष ०७८÷०८० मा रु ३ अर्व ७ करोडको कारोबार भएकोमा अघिल्लो वर्षको तुलनामा १९.८६ प्रतिशतको वृद्धि भएर रु ३ अर्व ६८ करोडको कारोबार भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार, यस आर्थिक वर्षमा पुष्प र पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबारले पनि वृद्धि देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे