
सिराहा — सिराहामा १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा संलग्न आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केही मृतकका आफन्त र छिमेकी नै भएको प्रहरीले जनाएको छ।
आइतबार राति खाना खाएर घरनजिकैको चोकतर्फ घुम्न गएका अभिषेक फर्किएनन्। परिवारले रातभर खोज्दा पनि उनी भेटिएनन्। सोमबार बिहान उनी अपहरणमा परेको थाहा भयो जब परिवारको मोबाइलमा ‘इमो’ मार्फत पाँच करोड फिरौती मागिएको सन्देश आयो।
उक्त सन्देश आएपछि परिवारले तुरुन्तै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए। तर, सोही दिन अभिषेकको शव घरदेखि करिब १०० मिटर टाढा रहेको आँपको बगैँचामा फेला परेको थियो।
शव गाउँनजिकै भेटिएकाले अपहरण र हत्या आफन्त वा छिमेकीको संलग्नतामा भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ। अहिले पक्राउ परेकाहरूको नाम प्रहरीसँग गोप्य राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे