
काठमाडौँ , २ वैशाख । ललितपुरको खपिन्छेँ टोलमा ११ वर्षीया दुर्गा बोहराको हत्या आरोपमा उनका १५ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ। गत चैत २९ गते बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको प्रयोगविहीन पानी ट्याङ्कीमा दुर्गाको सडेगलेको अवस्थामा शव फेला परेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार अनुसन्धानको क्रममा दुर्गाको हत्या उनकै दाजुले गरेको खुलेको हो। ललितपुर महानगरपालिका–१२ मंगलबजारबाट पक्राउ गरिएका किशोरलाई जिल्ला प्रहरी परिसर ललितपुरमा आवश्यक कारबाहीका लागि बुझाइएको छ।
अनुसन्धानका क्रममा दाजुबहिनी दुवैले लागुऔषधको ट्याबलेट सेवन गरेको र नशाको अवस्थामा घटना भएको बयान दाजुले दिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार घटना चैत ४ गते भएको देखिएको छ।
प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा दुर्गाको हत्या पारिवारिक अन्तरद्वन्द्व वा लागुऔषधको प्रभावमा भएको हुन सक्ने आशंका गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे