
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नसर्ने रोग र मानसिक स्वास्थ्यका मुद्दा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको छ। ललितपुरमा दक्षिण एसिया क्षेत्रीय नसर्ने रोग सञ्जाल र नेपाल नसर्ने रोग सञ्जालको संयुक्त आयोजनामा सम्पन्न क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले सन् २०२५ को संयुक्त राष्ट्र सङ्घीय उच्चस्तरीय बैठकमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
मन्त्री गौतमले नेपालको स्वास्थ्य बजेटको ठूलो हिस्सा रोकथाम गर्न सकिने नसर्ने रोगमै खर्चिनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमको खर्च विनियोजित बजेटभन्दा दोब्बर भई २४ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै बीमा प्रणालीको तत्काल पुनरावलोकन र संरचनात्मक सुधार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार दीर्घकालीन समाधानका लागि उपचारभन्दा रोकथाममा केन्द्रित नीति अपरिहार्य भइसकेको छ।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरी नसर्ने रोगको भार घटाउने र मानसिक स्वास्थ्य व्यवस्थापनमा साझा कार्यदिशा तय गर्ने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिनुभयो। यसका लागि सरकार, नागरिक समाज र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
जनवरी १२, २०२६ मा आयोजित उक्त सम्मेलनमा नेपालसहित दक्षिण एसिया क्षेत्रका नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील विज्ञ, स्वास्थ्यकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनले क्षेत्रीयस्तरमा उत्तरदायित्व सुदृढ गर्दै नसर्ने रोग र मानसिक स्वास्थ्य व्यवस्थापनमा साझा रणनीति निर्माण गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे