
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा निर्णायक खेलमार्फत टुंगो लाग्दै छ। दिउँसो ३ः३० बजे हुने फाइनलमा गत वर्षका उपविजेता सुदूरपश्चिम रोयल्स र उत्कृष्ट फर्ममा देखिएको लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सिधै फाइनल पुगेको थियो। त्यस्तै, लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा हार बेहोरे पनि विराटनगरले दोश्रो क्वालिफायर मार्फत फाइनलमा पुग्ने अन्तिम प्रयास गरेको थियो।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने प्रमुख दाबेदार मानिएको छ। गत वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले हार बेहोर्नु परेको टोलीले यस संस्करणमा उपाधि उचाल्ने लक्ष्य राखेको छ। लिग चरणमा यिनै दुईबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको फराकिलो जित हात पारेको थियो।
यता, रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो। तर यस वर्ष टोली सन्तुलित प्रदर्शन गर्दै फाइनल यात्रा बनाउन सफल भएको छ। लायन्स यस पटक ‘जसरी भए पनि’ उपाधि भित्र्याउने मनोबलमा देखिन्छ।
प्रतियोगितामा विजेताले रु १ करोड १० लाख, उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख, र चौथो स्थान प्राप्त टोलीले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलमा आठ टाेली सहभागी थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे