
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सव विशेष समारोह आयोजना गरी काठमाडौंमा मनाइएको छ। मङ्गलबार आयोजित समारोहमा सार्कका महासचिव मोहम्मद गोलाम सरवारले सार्क बडापत्रका उद्देश्य साकार पार्न संगठनका विशिष्टीकृत निकाय, क्षेत्रीय केन्द्र तथा अन्तर–सरकारी संयन्त्रहरू सक्रिय रूपमा कार्यरत रहेको उल्लेख गरे।
महासचिव सरवारले सार्कका पर्यवेक्षक राष्ट्र तथा विकास साझेदारहरूसँगको सहकार्य निरन्तर सुदृढ हुँदै गएको जनाउँदै दक्षिण एसियाली क्षेत्रबीच सहकार्य, एकता र उत्थानशीलताको प्रतीकका रूपमा सार्क स्थापित भएको बताए। ‘दक्षिण एसियाली क्षेत्र विश्वको करिब एक चौथाइ जनसंख्या बोकेको क्षेत्र हो,’ उनले भने, ‘आगामी दिनमा साझा चुनौतीहरूको सामना गर्दै उपलब्ध सम्भावनाको सदुपयोग गर्न सार्क अझ प्रभावकारी बन्ने विश्वास लिएको छु।’
उनका अनुसार दक्षिण एसियाका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित गरिबी निवारण, आर्थिक तथा व्यापारिक विकास, कृषि, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क र पूर्वाधार विकासजस्ता क्षेत्रमा सार्कअन्तर्गत क्षेत्रीय सहकार्य विस्तार हुँदै आएको छ। साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आतङ्कवाद र लागुपदार्थ तस्करी नियन्त्रण, सुरक्षा, युवा, महिला तथा बालबालिकाको सशक्तीकरणजस्ता साझा चुनौतीमा पनि संगठनले ध्यान केन्द्रित गरेको उनले बताए।
समारोहमा प्रमुख अतिथिका रूपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित थिए। कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, सार्कका पदाधिकारी, परराष्ट्रविद्, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो। अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्र रहेको सार्कको सचिवालय सन् १९८७ जनवरी १७ मा काठमाडौंमा स्थापना गरिएको थियो।
सार्कअन्तर्गत राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूको शिखर सम्मेलन संगठनको सर्वोच्च निर्णय निकाय हो। हालसम्म १८ वटा शिखर सम्मेलन सम्पन्न भइसकेका छन्। सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौंमा सम्पन्न १८औँ शिखर सम्मेलनपछि भने सार्कको शिखर बैठक आयोजना हुन सकेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे