
काठमाडौं,२१ चैत | वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका-१० घर भई काठमाडौं टोखा बस्ने ३२ वर्षीय जिवराज केसी र म्याग्दी गाउँपालिका-१ घर भई कास्की पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३८ वर्षीया नन्द देवी पुन रहेका छन् ।
पक्राउमध्ये केदारले युके पठाईदिन्छु भन्दै ३५ जना पीडितहरूबाट ६ करोड रूपैयाँ ठगी गरेको, जिवराजले फ्रान्स पठाईदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६५ हजार रूपैयाँ ठगी गरेको र नन्द देवीले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ६७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले केदारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बाट, जिवराजलाई काठमाडौं नयाँ बसपार्कबाट र नन्द देवीलाई पोखरा लेकसाईडबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे