
काठमाडौं, मङ्सिर ३ । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।
पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे