
ललितपुर । पाँच महिना अघि प्राकृतिक विपत्तिले युलेन्स स्कुलका संरचनालाई हल्लाए पनि संस्थाको शैक्षिक प्रतिबद्धता र सामूहिक मनोबल अडिग रह्यो। युलेन्स एजुकेशन फाउन्डेसनले उलन्स स्कुल काठमाडौंको सम्पूर्ण पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरी विद्यालयलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै राजधानी काठमाडौंमा पठनपाठन तथा विद्यालयका सम्पूर्ण गतिविधि नियमित रूपमा पुनः सुरु भएका छन्।
युलेन्स स्कुल, ललितपुरमा पनि पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढिरहेको छ। केही भवनहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ती भवनहरूमा कक्षाहरू पुनः सञ्चालनमा आइसकेका छन्। क्याम्पस वानका मुख्य संरचनाहरूमा अझै निर्माण कार्य जारी रहे पनि आगामी दुई महिनाभित्र सम्पूर्ण संरचना पूर्ण रूपमा पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
भौतिक पुनर्निर्माणसँगै संस्थाले नेतृत्व संरचनामा समेत पुनर्संरचना गरेको छ। शैक्षिक नेतृत्वमा लामो अनुभव हासिल गर्नुभएका प्रा. डा. भोला थापा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा नियुक्त हुनुभएको छ। त्यस्तै, युलेन्स स्कुल ललितपुरको प्रधानाध्यापकको जिम्मेवारी एक्ता राणाले सम्हाल्नुभएको छ भने युलेन्स एजुकेशन फाउन्डेसनको प्रमुख शैक्षिक अधिकृतका रूपमा मेदिनबहादुर लामिछाने नियुक्त हुनुभएको छ।
संस्थाले प्रगतिशील शिक्षण पद्धतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पुनर्निर्माणलाई केवल संरचनात्मक नभई शैक्षिक रूपान्तरणको अवसरका रूपमा लिएको जनाएको छ। यस कठिन यात्रामा साथ र सहयोग प्रदान गर्ने अभिभावक, शिक्षक–कर्मचारी तथा सम्पूर्ण उलन्स समुदायप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे