
काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेको हुन् । विश्वासको मत लिनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीप्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग गठबन्धन गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।
कांग्रेस, राप्रपा, जनमत ,लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् । प्रतिनिधिसभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय रास्वपाको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन् । कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे