
काठमाडौँ । नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गरेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
उद्घाटन खेल नेपाल–थाइल्याण्डबीच बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुने तय गरिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको थियो। टोलीकी कप्तान इन्दु वर्माले घरेलु मैदानको फाइदा उठाउँदै सुधारिएको ब्याटिङ, फिल्डिङ र टोली समन्वयका आधारमा कम्तीमा सुपर सिक्स चरणसम्म पुग्ने लक्ष्य रहेको बताइन्।
प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्याण्ड गरी जम्मा १० देश सहभागी छन्। अन्य टोलीका कप्तानहरूले नेपाली पिच चुनौतीपूर्ण भए पनि प्रतिस्पर्धात्मक रहेको प्रतिक्रिया दिएका छन्। नामेबिया र अमेरिकाका कप्तानले अभ्यास खेलले उनीहरूलाई प्रतियोगिताका लागि राम्रो तयारी गराएको बताएका छन्।
नेपालको महिला टोलीले घरेलु मैदानको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्नुपर्ने अवस्था रहेको प्रतियोगिताप्रति विशेषज्ञहरूले उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे