
काठमाण्डौ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणमा मारिएको इरानी सरकारी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्। समाचार अनुसार हालै भएको सैन्य कारबाहीका क्रममा खामेनीको मृत्यु भएको हो।
खामेनीको निधनको औपचारिक घोषणा भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा दिएको छ भने ४० दिनसम्म राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने र सरकारी कार्यक्रमहरू स्थगित गरिने बताइएको छ।
सञ्चार माध्यमहरूका अनुसार यो आक्रमण इजरायल र संयुक्त राज्य अमेरिका ले संयुक्त रूपमा सञ्चालन गरेका थिए। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनाव र सैन्य द्वन्द्वकै बीच यस्तो घटना भएको हो।
खामेनी इरानको सबैभन्दा शक्तिशाली पदमा रहेका नेता थिए। उनको मृत्युले इरानको आन्तरिक राजनीति, सुरक्षा व्यवस्था र क्षेत्रीय स्थिरतामा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ। यस घटनापछि इरानभर सुरक्षा सतर्कता कडा बनाइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि खामेनीको मृत्यु भएको दाबी गरेका थिए। खामेनीको निधनपछि इरान अब कसरी अघि बढ्छ भन्ने विषयमा विश्वभर चासो र अड्कलबाजी सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे