
काठमाडौँ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरे ।
उनले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए ।
‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस्, लामिछानेले भने ।
उनले यस प्रकरणमा नाम आएकाहरु सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाउनु भयो । उनले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गरे । उनले यस प्रकरणमा नाम मुछिएकाहरुलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गरे ।
उनले भने , ‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ । यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ ’ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे