
काठमाडौं, नेपाल – राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका युक्रेनी समकक्षी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र राष्ट्रपति ट्रम्प बीच ओभल अफिसमा गरिएको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच गम्भीर भनाभन भएको र युक्रेनी युद्धको भविष्यका बारेमा अड्कलबाजी सुरु भएको छ। यो विवाद रुस-युक्रेनी युद्ध र युद्ध रोक्ने उद्देश्यले साउदी अरबमा भइरहेको छलफलसँग सम्बन्धित थियो।
पत्रकार सम्मेलनमा, उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति ट्रम्पले कूटनीतिक माध्यमबाट युक्रेनी युद्धको अन्त्यका लागि पहल गरिरहेको दाबी गरे। तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भान्सलाई रोकेर आफ्नो पक्षमा कुरा राख्न अनुमति मागे। उनले भने, “२०२२ अघि पनि रुसले युक्रेनी भूभागमा आक्रमण गरेको थियो र त्यो बेला राष्ट्रपति ट्रम्प हुँदा पनि कुनै पहल नगरेको थियो।”
जेलेन्स्कीले थपे, “रूसले पूर्वी युक्रेन र क्राइमियालगायतका भूभागमा युक्रेनी नागरिकलाई मारेर कब्जा गरेको छ।” उनले ट्रम्प र अन्य अमेरिकी नेताहरूलाई युद्ध रोक्ने कुनै पहल नगरेको आरोप लगाए। ट्रम्पले भने, “त्यतिबेला म राष्ट्रपति थिएन।”
तत्पश्चात, जेलेन्स्कीले आफू राष्ट्रपति बनेपछि रुससँग युद्धविरामको प्रयास गरे पनि पुटिनले त्यसको उल्लंघन गर्दै आक्रमण गरे भन्ने दाबी गरे। उनले भान्ससँग प्रश्न गरे, “तपाईंको कुटनीतिक प्रयास भनेको के हो?” उपराष्ट्रपति भान्सले जवाफमा भने, “म तपाईंको देशको विनाश रोक्ने कूटनीतिक प्रयासको कुरा गर्दैछु।”
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भान्सलाई युक्रेनमा पुटिनको आक्रमण र त्यसको परिणाम देख्न जानुभएको छ कि भनेर सोधे। भान्सले दुईपटक युक्रेनको अवस्था नियालिसकेको जवाफ दिए।
यस विवादपछि ट्रम्पले जेलेन्स्कीलाई आरोप लगाए कि उनले युद्धलाई कार्डको रूपमा प्रयोग गर्दै तेस्रो विश्व युद्धको सम्भावना बढाउन खोजिरहेका छन्। जेलेन्स्कीले ट्रम्पको यो अभिव्यक्ति अस्वीकार गरे। यस घटनापछि, जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न निर्देशन दिइएको खबर आएको छ।
यो घटना युक्रेनी र अमेरिकी नेताबीचको सम्बन्धमा नयाँ तनाव र असहजता पैदा गर्ने प्रकृतिको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे