
काठमाडौँ , पुस ७। अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ।
ब्रेन क्यान्सरको चौथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारको क्रममा निधन भएको थियो। नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार सम्पन्न भएको हो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरू उपस्थित थिए।
त्यसैगरी, १२ः४५ बजे फ्रेस पोन्ड क्रेमेटेसनमा श्रद्धाञ्जली सभा पनि आयोजना गरिएको थियो।
केहि वर्ष पहिले अमेरिकाको जर्जिया राज्यमा पीएचडी अध्ययन गर्न गएका बर्दिया निवासी विवेक पंगेनीले आफ्नो ब्रेन क्यान्सरको शल्यक्रिया सफलतापूर्वक गराएका थिए। पछि थप उपचारका लागि विगत ४-५ महिनादेखि उनी न्यूयोर्कमा बस्दै थिए। उनका क्यान्सरको चौथो स्टेजको कारण, धेरै प्रयास गर्दा पनि अन्ततः १७ डिसेम्बर २०२४ का दिन बिहान ५ बजे न्यूयोर्क स्थित उपचार केन्द्रमा उनकाे निधन भएको हो।
उनका पत्नी सिर्जना सुबेदीले विवेकलाई बचाउन निकै संघर्ष गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पण नेपाली समुदायमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि उच्च प्रशंसा प्राप्त भएको छ। उनका प्रयासले धेरैलाई प्रेरित बनाएको छ।
विवेकको निधनले न्यूर्कमा रहेका नेपाली समुदायलाई गहिरो दुःख र स्तब्धता पुगेको छ। यस कठिन घडीमा परिवारलाई सम्पूर्ण नेपाली समुदायले सहानुभूति र समर्थन व्यक्त गर्दै सहकार्य गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे