
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले साना तथा मझौला उद्यमीलाई महत्वपूर्ण राहत दिने व्यवस्था गरेको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत ३ करोड रुपैयाँसम्म प्रवाह हुने कर्जा साना तथा मझौला उद्यमका लागि दिइने कर्जामा समावेश गरिने भएको छ। यसले तोकिएका क्षेत्रहरूमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
यसैगरी, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा अवस्थित खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो प्राप्त गरेका होटल तथा रेस्टुरेन्ट तथा ती राजमार्ग र लोकमार्गका मुख्य बजार नजिक रहेका उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्न पनि विशेष व्यवस्था गरिएको छ।
उक्त क्षेत्रमा कर्जा प्रवाह गर्दा आधारदरमा बढीमा २ प्रतिशत बिन्दु मात्र प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने व्यवस्था मौद्रिक नीतिमा समावेश गरिएको छ।
गभर्नर पौडेलले यस नीतिले आर्थिक विकास र व्यवसायीहरूको सशक्तिकरणमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे