
काठमाडौं।सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकी सञ्चालक समिति सदस्य तथा निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको शनिबार साँझ करिब ६२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
छातीमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकी शर्माको साँझ ७ बजे उपचारकै क्रममा हृदयघात (कार्डियाक अरेस्ट) भई निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
हाल उहाँको पार्थिव शरीर नर्भिक अस्पतालमै राखिएको छ। पारिवारिक कार्यक्रमअनुसार आइतबार बिहान करिब ९ देखि १० बजेको बीचमा पार्थिव शरीर कुपण्डोलस्थित निवासमा लगिनेछ। दिल्लीमा रहेकी जेठी छोरी आइपुगेपछि दिउँसो अन्त्येष्टि गरिने जानकारी दिइएको छ।
शर्मा २०६९ सालदेखि २०७५ फागुनसम्म निर्वाचन आयोगमा आयुक्तको रूपमा कार्यरत थिइन्। यस अवधिमा उनले निर्वाचन कानुन निर्माण, नियमावली मस्यौदा र निर्देशन कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरिन्। निर्वाचनसम्बन्धी उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व समेत शर्माले सम्हालेकी थिइन्।
पछिल्लो समय बैंकिङ क्षेत्रको नीति निर्माण तहमा समेत संलग्न रहेकी शर्मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालक समितिमा सदस्य थिइन्। राष्ट्र बैंकसँगको एएमएल/सीएफटी सम्बन्धी बैठकदेखि सञ्चालक समितिको निर्णयसम्म, उनी सबै बैठक तथा गतिविधिमा सक्रिय रूपमा सहभागी रहेको एक उच्च पदस्थ बैंक अधिकारीले स्मरण गरे।
“हिजो मात्रै सञ्चालक समिति बैठकमा उहाँसँग छलफल गरेका थियौं,” ती अधिकारीले भने, “आज दिनभर कार्यक्रम र भेटघाटमै व्यस्त रहनु भएको थियो, साँझ निधनको खबरले हामी स्तब्ध छौं।”
धनुषामा जन्मिएकी शर्मा बनारसमा हुर्केकी थिइन्। पत्रकारिता र प्राध्यापनमा समेत क्रियाशील रहेकी उनले जीवनभर लोकतन्त्र, निर्वाचन सुधार, सुशासन र नागरिक सहभागिता सुदृढीकरणमा समर्पित भई योगदान दिइन्।
उनका दुई छोरी छन्। उहाँको निधनले नेपालले एक निष्ठावान् संवैधानिक पदाधिकारी, विवेकी विश्लेषक तथा सक्रिय नागरिक समाजकर्मी गुमाएको प्रतिक्रिया सार्वजनिक जीवनमा व्यक्त भइरहेको छ।
यस शोकपूर्ण घडीमा इला शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे