
काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले गणतन्त्रात्मक संवैधानिक व्यवस्थाले नेपालका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुवेशभूषागत विशेषताहरूको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्धन गरेको बताएका छन्।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सोमबार जारी शुभकामना सन्देशमा उपराष्ट्रपतिले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वहरूको विविधता रहेको उल्लेख गर्दै सामाजिक विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना बलियो बनाउन योगदान पुर्याएको धारणा व्यक्त गरेका छन्।
उनको सन्देशमा गणतन्त्रात्मक संवैधानिक व्यवस्थाले नेपालका विभिन्न समुदाय, भूगोल, धर्म र संस्कृतिलाई परस्पर जोड्ने कार्य गरेको उल्लेख छ। साथै, आपसी द्वन्द्व, वैमनस्यता र रागद्वेषलाई बिर्सेर परस्पर खुशी साटासाट गर्न वसन्त पञ्चमीले प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।
यस्तै, उपराष्ट्रपतिले पछिल्लो समय कृषिमा आधुनिकीकरणसँगै परम्परागत संस्कृति लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण आवश्यक रहेको बताएका छन्। उनका अनुसार, वसन्त पञ्चमीलाई माता सरस्वतीको आविर्भाव दिवसका रूपमा मनाइने प्रचलन रहेको छ भने मधेश क्षेत्रमा हलोको पूजा गरी कृषिकर्ममा संलग्न श्रमिक तथा किसानहरूलाई सम्मान गर्ने परम्परा रहेको छ। कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस पर्वले कृषिमा संलग्न व्यक्तिहरूप्रति सम्मानभाव प्रकट गर्न प्रेरित गर्ने उनको धारणा छ।
साथै, सरस्वती प्रतिमाहरू स्थापना गरिएका स्थानमा भजन–कीर्तन, वसन्त श्रवण तथा होली गीतहरूले मौलिक परम्परा तथा सांस्कृतिक धरोहर संरक्षणमा टेवा पुग्ने विश्वास उपराष्ट्रपतिले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे