
काठमाडौँ, ७ भदौ। संयुक्त राष्ट्रसंघले नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनको लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकोमा स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले विधेयक पारित भएकोमा प्रशंसा गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनले १८ वर्ष अघि शान्ति सम्झौतापछि पारित भएको यस विधेयक नेपालमा दिगो शान्ति स्थापनामा महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्।
उच्चायुक्त टर्कले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताएका छन्। उनले पारदर्शी ढंगले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा नियुक्त गरिनुपर्नेमा जोड दिएका छन्।
शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई सहयोग गर्न आयोग तत्पर रहेको उनले उल्लेख गरेका छन्। नेपाल क्षेत्रीय र अन्तर्राष्ट्रिय जगत्मा शान्ति प्रक्रियाको सफलतामा उदाहरणीय मुलुकको रूपमा स्थापित भएको र यसको सफल समापनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे