
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ। पहिले विधानको विषय टुंग्याएर पछि वैचारिक छलफल गर्ने अभ्यासका साथ यो अधिवेशन गरिएको हो। २,३४१ जना प्रतिनिधिहरू सहभागी हुने महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किमि क्षेत्रमा १८ वटा स्वागतद्वार बनाइएका छन्। आवतजावतका लागि निःशुल्क सवारीको व्यवस्था गरिएको छ।
सभा हल ‘सनराइज हल’ पूरै डिजिटल बनाइएको छ। २,८४० सिट क्षमताको हलमा चारवटा प्रवेशद्वार छन्। पार्टी अध्यक्ष ओली पहिलो द्वारबाट मात्रै प्रवेश गर्नुहुनेछ। प्रतिनिधिहरूका लागि परिचय स्क्यान गर्ने कम्प्युटर बुथ राखिएको छ।
हलमा झण्डा, फोटो, डिजिटल बोर्ड, मिडिया सेन्टर र वाइफाइ जस्ता सुविधा छन्। उद्घाटन कार्यक्रम छोटो हुनेछ — १२ मिनेटमै सकिनेछ। मङ्गलधुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत बजाइनेछ। उद्घाटनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नुहुनेछ। २१ गते १० समूहमा विभाजन गरी ती प्रतिवेदनमाथि छलफल गरिनेछ। छलफलका लागि विभिन्न स्थानमा समूहहरूको व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे