
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनका प्रस्तावहरूलाई अन्तिम रुप दिन आज पार्टीको पोलिटब्युरो बैठक बस्न लागेको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको छ।
बैठकमा पार्टी सचिवालयले निर्णय गरेका विधान संशोधन लगायतका प्रस्तावहरू पेस गरिने छन्। ती प्रस्तावहरू यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ। पार्टीको विधान महाधिवेशन अगाडि प्रस्तावहरू संस्थागत रूपमा अनुमोदन गरिने तयारी गरिएको छ।
गएको बिहीबार राति सम्पन्न सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा घनिभूत छलफल भएको थियो। पौडेलको उक्त प्रस्तावमा पोलिटब्युरोले थप परिमार्जन एवं सुझाव दिनेछ भने अन्तिम निर्णय केन्द्रीय कमिटीले लिनेछ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना हुने तय भएको छ। सो महाधिवेशनमार्फत् पार्टीभित्र रहेका केही प्रमुख प्रावधानहरू—जसमा ७० वर्षे उमेरहद र एकै पदमा दुई कार्यकालभन्दा बढी जिम्मेवारी नलिने सन्दर्भ—हटाउने तयारी समेत गरिएको छ।
पार्टी नेतृत्वमा दीर्घकालीन निरन्तरताको बाटो खुला गर्न भन्दै यसपटक विधानमा व्यापक संशोधनको प्रस्ताव ल्याइएको छ। महाधिवेशनले यी विषयमा नीतिगत निर्णय गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे