
काठमाडौं । डोनाल्ड ट्रम्प ले मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा इरानलाई सैन्य सहयोग गरेको पाइए चीनमाथि कडा आर्थिक प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले चीनले इरानलाई सहयोग गरे अमेरिकामा आयात हुने चिनियाँ वस्तुहरूमा थप ५० प्रतिशतसम्म भन्सार महसुल लगाइने स्पष्ट पारेका हुन्।
अमेरिकी प्रशासनले चीनबाट इरानतर्फ हतियार आपूर्ति हुनसक्ने आशंकाबारे निगरानी बढाएको जनाएको छ। केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अमेरिकी गुप्तचर निकायको उद्धरण दिँदै चीनले हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने हतियार इरान पठाउने तयारी गरेको दाबी गरेका छन्। यस विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले यदि यस्तो गतिविधि पुष्टि भए चीनका लागि गम्भीर परिणाम निम्तिने चेतावनी दिएका छन्।
यसैबीच, सी जिनपिङ सँगको सम्भावित शिखर वार्ता युद्धको अवस्थाका कारण प्रभावित भएको उल्लेख गर्दै ट्रम्पले आगामी महिना चीन भ्रमण गर्ने योजना रहेको जानकारी दिएका छन्।
मध्यपूर्वको अवस्थालाई थप जटिल बनाउँदै अमेरिका र इजरायलले फागुन अन्त्यतिर इरानमाथि संयुक्त आक्रमण गरेका थिए। त्यसपछि केही समयका लागि युद्धविराम घोषणा भए पनि स्थायी समाधानका लागि भएका कूटनीतिक प्रयास भने निष्कर्षविहीन भएका छन्। पाकिस्तानमा सम्पन्न पछिल्लो वार्ता बिना सहमति टुंगिएको अमेरिकी उपराष्ट्रपतिले जानकारी दिएका छन्।
विश्लेषकहरूका अनुसार इरान, अमेरिका, चीन र क्षेत्रीय शक्तिहरूबीच बढ्दो तनावले विश्व अर्थतन्त्र र सुरक्षामा दीर्घकालीन प्रभाव पार्न सक्ने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे