
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सङ्क्रमणकालीन न्याय टुंग्याउने विषयमा अत्यन्त जिम्मेवार र संवेदनशील रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले शान्ति प्रक्रिया टुंग्याउन बाँकी रहेका कामहरू पूरा गर्नु सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले संविधानले दिएको निर्देशनअनुसार सहिद, बेपत्ता र द्वन्द्वपीडितहरूको योगदानप्रति सम्मान जनाउन सरकार कटिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार शान्ति प्रक्रियालाई यथासक्य छिटो निष्कर्षमा पुर्याउने लक्ष्यसहित सरकार काम गरिरहेको छ।
“पीडितलाई न्याय दिने सवालमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ,” प्रधानमन्त्री ओलीले भने, “द्वन्द्वपीडितहरूसँग निरन्तर छलफल भइरहेको छ, जुन शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने साझा सरोकारको विषय हो।”
उनले बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलापसम्बन्धी आयोग ऐन, २०७१ को व्यवस्थाअनुसार आयोग गठन भई काम अघि बढिसकेको जानकारी दिए। साथै, आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग समन्वय गर्दै बाँकी कार्यहरू अघि बढाउनेमा आफू विश्वस्त रहेको उनले बताए।
प्रधानमन्त्रीले सरकारको तर्फबाट शान्ति प्रक्रिया, न्याय प्राप्ति र मेलमिलापको मार्ग सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता दोहोर्याए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे