काठमाडौं – वैदेशिक शिक्षा परामर्श क्षेत्रमा स्थापित तथा विश्वसनीय संस्था ट्रान्स ग्लोब एजुकेशनले आफ्नो मुख्य कार्यालय हात्तीसारबाट ललितपुरको कुमारिपाटीमा औपचारिक रूपमा स्थानान्तरण गरेको छ। विद्यार्थी तथा अभिभावकलाई सहज, गुणस्तरीय तथा फराकिलो सेवा प्रदान गर्ने उद्देश्यले नयाँ, सुविधासम्पन्न स्थानबाट सेवा सुरु गरिएको संस्थाले जनाएको छ।
नयाँ कार्यालयको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। संस्थाकी अध्यक्ष स्मृति पोखरेल र निर्वाणा स्कूल/कलेजकी अध्यक्ष विद्या श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको शुभारम्भ गर्नुभयो। समारोहमा उपस्थित अतिथि तथा प्रतिनिधिहरूबीच केक कटिङ कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
समारोहमा स्वागत मन्तव्य राख्दै निर्देशक कृष्णराज पोखरेलले संस्थाले विद्यार्थी–केन्द्रित, पारदर्शी तथा परिणाममुखी परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले कुमारिपाटी शाखालाई मुख्य हबका रूपमा विकास गरी अन्तर्राष्ट्रिय विश्वविद्यालय भर्ना प्रक्रिया, भिसा परामर्श तथा करिअर काउन्सेलिङ सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिनुभयो।
शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, हेमन्त भट्टराई, योगेश चेत्री लगायतले नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। टेस्ट तयारी इन्स्ट्रक्टर समिर आचार्य र वरिष्ठ काउन्सेलर शिखा बास्कोटाले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श तथा तयारी कक्षामा सहभागी हुन आमन्त्रण गर्नुभयो।
ट्रान्स ग्लोब एजुकेशनले कालिमाटी र बागबजारमा सञ्चालन गर्दै आएको शाखासँगै काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्जाल थप विस्तार गरेको छ। तीनवटै शाखाबाट अध्ययन विदेशसम्बन्धी परामर्श, आवेदन प्रक्रिया, टेस्ट तयारी तथा भिसा मार्गदर्शन जस्ता सम्पूर्ण सेवा उपलब्ध हुने गरी नयाँ कार्यालयले विद्यार्थी सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।








