
एजेन्सी । पोर्चुगलको लिस्बनस्थित एक लोकप्रिय फ्युनिक्युलर ‘एलेभाडोर दा ग्लोरिया’ बुधबार साँझ पटरीबाट खस्दा भएको दुर्घटनामा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको पोर्चुगलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उक्त फ्युनिक्युलर रेस्टोरडोरेस स्क्वायर र एभेनिडा दा लिबेरडेड हुँदै बैरो अल्टो छिमेकतर्फको उकालो चढ्ने क्रममा लिस्बनको मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय मानिन्छ। लिस्बन फायर फाइटर रेजिमेन्टका अनुसार साँझ ६ बजेपछि केबल खुकुलो भएर नियन्त्रण गुमाउँदा फ्युनिक्युलर भवनमा ठोक्किएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रमुख टियागो अगस्टोले दुर्घटनाका पीडितहरूमध्ये पोर्चुगिज र विदेशी नागरिकहरूसमेत रहेको जनाए पनि उनीहरूको राष्ट्रियता हालसम्म पुष्टि नभएको बताए। मृतकहरूमध्ये कुनै पनि बालबालिका नरहेको जानकारी उनले दिए।
सन् १८८५ मा सञ्चालनमा आएको ‘एलेभाडोर दा ग्लोरिया’ लिस्बनका दुई धनी तथा पर्यटकीय क्षेत्रहरूलाई जोड्ने तीन प्रमुख फ्युनिक्युलरमध्ये एक हो। यसको सञ्चालक कम्पनी क्यारिसका अनुसार उक्त फ्युनिक्युलरले एक पटकमा ४२ जना यात्रु बोक्न सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे