
एजेन्सी। राष्ट्रपति रामचन्द्र पौडेलले आज टोकियोमा जापानका प्रमुख व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटवार्ता गर्नुभएको छ। उक्त अवसरमा नेपालतर्फबाट ‘नेपालमा व्यवसाय र लगानीका अवसर’ विषयमा प्रस्तुति दिइएको थियो।
बैठकमा जापानी र नेपाली व्यवसायिक समुदायका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए भने राष्ट्रपति पौडेलसँगै जापान भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले समेत नेपालमा लगानीका सम्भावना र सरकारी प्राथमिकताबारे जानकारी गराएका थिए। छलफलमा पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीका अवसरबारे विशेष ध्यान केन्द्रित गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापानी व्यवसायिक समुदायलाई नेपालमा उपलब्ध सम्भावनाहरूको अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण, नीतिगत स्थायित्व र सरकारी सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल–जापानबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत अझ सुदृढ बनाउने अवसरका रूपमा लगानी सहकार्यलाई लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे