
काठमाडौँ । अरब सागर र बङ्गालको खाडीमा विकसित दुई न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको केही दिन वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार रातिदेखि पश्चिम नेपाल हुँदै सुरु भएको वर्षा क्रमशः देशभर फैलिँदै जानेछ। यसले धान काट्ने, छाँट्ने र झार्ने कार्यमा व्यस्त किसानलाई प्रभावित पार्ने देखिएको छ।
मौसमविद् डेविड ढकालका अनुसार बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै भूभागमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा भारीदेखि मध्यम हिमपात हुनसक्छ। यसले देशभर चिसो बढाउने भएकाले जनसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।
कृषि मौसमविद् रामेश्वर रिमालले काटिएका धानलाई छापो हालेर जोगाउन र झारिसकिएको धानलाई भकारीमा राख्न किसानलाई सुझाव दिएका छन्। वर्षाले हिउँदे तरकारी र आलुबालीका लागि भने राहत दिने भएकाले यो वर्षा कृषिका दृष्टिले उपयोगी हुने बताइएको छ।
यस प्रणालीको प्रभाव साताभर रहने र अन्तिम तीन दिन मधेश तथा पूर्वी भेगमा केन्द्रित हुने अनुमान गरिएको छ। त्यस्तै, मुस्ताङ प्रशासनले उच्च हिमाली पदमार्गमा बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पदयात्रा नगर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे