
काठमाडौँ, १२ कार्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।
कात्तिक शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ गर्दै छन् । चार दिनसम्म मनाईने यस पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गर्ने चलन रहेको छ ।
यस दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।
यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे