
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यो साधारण शेयर निष्कासन गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस आईपीओ अन्तर्गत कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा कुल ३९ लाख ५० हजार कित्ता शेयरहरू जारी गरेको छ। यस अनुसार कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
आईपीओको पहिलो चरणमा, कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० लाख ८८ हजार ८९० कित्ता शेयर निष्कासन गरेको थियो। दुबै समूहका आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू, जस्तै ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा, दरमखोला पावर हाउस र आवश्यकता अनुसार अन्य स्वीकृत संकलन केन्द्रहरूबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो शेयर अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि जारी पूँजीको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर थप जारी गर्ने योजना सार्वजनिक गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे