
काठमाडौं, असोज ५ — आज सोह्रश्राद्धको अन्तिम दिन हो। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज आमावास्याको दिन (औँसी) तर्पण, सिदादान र पिण्डदान गरेर सकिँदैछ। यसलाई सोह्रश्राद्ध भनिन्छ, किनभने यो १६ दिनसम्म गरिन्छ।
श्राद्ध गर्न छुटेको भए आज गर्नुपर्ने शास्त्रीय मान्यता छ। अझै पनि गर्न नसकेमा भोलि (आश्विन शुक्ल प्रतिपदा)देखि पञ्चमीसम्म वा अन्य विशेष तिथिमा गर्न सकिने विकल्प पनि धर्मशास्त्रमा दिइएको छ। सकेमा तीर्थस्थलहरू — जस्तै गोकर्णेश्वर, बेत्रावती, देवघाट र त्रिवेणीमा गएर श्राद्ध गर्ने चलन छ।
श्राद्ध नगरेमा पितृ रिसाउने र श्राप दिन सक्ने धार्मिक विश्वास छ। सोह्रश्राद्धले पितृप्रतिको कर्तव्य पुरा हुने र पितृऋणबाट मुक्ति मिल्ने भनिन्छ।
आज श्राद्ध सकिएसँगै भोलिदेखि दुर्गा पूजा (बडादसैं) सुरु हुन्छ। भोलि असोज ६ गते घटस्थापना गरेर दशैंको सुरुआत गरिनेछ। हिन्दू परम्पराअनुसार पितृलाई सम्झेर मात्र चाडपर्व मनाउन थालिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे